इटहरीः मोरङको विराटनगर महानगरपालिका १० स्थित कोसी कोभिड अस्पतालमा ल्याइएका कोरोना संक्रमित बन्दी अस्पतालबाटै फरार भएका छन् ।

फरार हुनेमा विराटनगर महानगरपालिका १८ घर भई लेनदेन मुद्दामा पक्राउ परेका ४५ वर्षीय लक्ष्मण दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ जिल्ला अदालतबाट लेनदेन मुद्दामा दोषी ठहर भई २०७६ साल वैशाख २९ गते ६ महिना कैद सजाय पाएका दास सजायको फैसलापछि फरार रहेकोमा साउन २० गते प्रहरीद्वारा पक्राउ परेका थिए । पक्राउ परेपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि कारागार चलान नगरी उनलाई उपचारार्थ कोभिड अस्पताल भर्ना गरिएको थियो ।

शौचालय जाने बहानामा दास राति १० बजेतिर दास फरार बनेको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए । बन्दी फरार भएपछि उनको सुरक्षार्थ परिचालित प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवमाथि प्रहरीले छानबिन सुरु गरेको छ । राजवंशीका अनुसार अहिले अस्पतालमा छ जना सङ्क्रमितको उपचार भइरहेको छ । एक जना भाग्नुअघि सात जना सङ्क्रमित उपचाररत रहेको उनले बताए ।