इनरुवाः गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्न अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेले कारबाही गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउन पार्टी भित्रैबाट असन्तुष्टहरुले अन्तर्घात गरेको निष्कर्ससहित त्यसको छानबिन गरेर अन्तर्घातिमाथि कारबाही गर्न समिति गठन गरेको छ ।
एमालेले अन्तर्घात गर्नेलाई कारबाही गर्न तीन सदस्यीय समिति निर्माण गरेको छ । प्रदेश सदस्य सरोज सिंहको संयोजकत्वमा गठित समितिको सदस्यमा सरिता घिमिरे र जानेश्वर मेहता रहेका छन ।
सो समितिले पार्टी भित्रैबाट भएको अन्तर्घातको छानबिन गरेर पार्टीलाई सिफारिस गर्नेछ । छानबिन समितिको सिफारिसको आधारमा जिल्ला कमिटीले अन्तर्घात गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।
एमाले इनरुवामा स्थानीय निर्वाचनमा पार्टीकै प्रभावशाली र वरिष्ठ नेताहरुले अन्तर्घात गरेको आरोप लागेको थियो ।
यसअघि नगरसभा र कार्यपालिकामा बहुमत सिट जितेको नेकपा एमालेका उम्मेदवारहरु लामो समयदेखि आफूले जित्दै आएको परम्परागत गढमा पराजित बनेपछि अन्तर्घातको कुरा उठेको थियो ।
यसअघि एमालेले वडा नम्बर ३, ४, ५, ६, ९ र १० नम्बर वडा जितेकोमा पछिल्लो निर्वाचनमा ४, ५, ६ र १० नम्बर वडा गुमाएको थियो । एमालेलेलाई यसअघि आएको भन्दा पनि धेरै कम मत ती वडाहरुबाट आएको थियो । एमालेले सो परिणाम अन्तर्घातको कारण आएको भनेको छ ।