इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकाले आफ्नो कार्यालयको सेवा नगरको ४ नम्बर वडा कार्यालयमा विस्तार गरेको छ ।

नगरपालिकाको क्षेत्रफल ठूलो हुँदा सबै सेवाग्राहीलाई सेवा लिन पायक नपरेको भन्दै सातामा दुई दिन ४ नम्बर वडा कार्यालयबाटै नगरपालिकाको सेवा प्रदान गरिने निर्णय गरिएको मेयर केदारप्रसाद गुरागाईँले जानकारी दिए । उनका अनुसार यो सेवा आजै प्रारम्भ गरिएको छ ।

सुन्दरदुलारी गाउँ विकास समिति र कोसीहरैँचा गाउँ विकास समितिलाई एकीकरण गरी सुन्दरहरैँचा नगरपालिका बनेको बताउँदै उनले सुन्दरदुलारी गाविसको कार्यालय हालको सुन्दरहरैँचा ४ मै पर्ने हुँदा यही वडामा नगरपालिकाको सेवा विस्तार गरिएको बताए ।

हरेक हप्ताको बुधबार र शुक्रबार ४ नम्बर वडा कार्यालयबाटै नगरपालिकाको सेवा प्रवाह हुने मेयर गुरागाईँको भनाइ छ । आवश्यक परेमा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई पनि लिएर गएर सबै सेवा दिने निर्णय गर्न सकिने उनले उल्लेख गरे ।