इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा कक्षा १२ मा अध्ययनरत एक युवतीले आत्महत्या गरेकी छन् ।

इटहरी ६ स्थित सुष्मा कोइराला मेमोरियल इन्जिनियरिङ कलेजको कक्षा १२ मा अध्ययनरत २१ वर्षीया श्रद्धा घिमिरेले हिजो (सोमबार) साँझ आत्महत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार ३÷४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

“दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन्,” डीएसपी खड्काले भने, “दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा आत्महत्या गरेको खुलेको छ ।”

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतक युवतीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको डीएसपी खड्काको भनाइ छ । घटना शंकास्पद रहेकाले अनुसन्धान प्रभावकारी बनाउन मृतक युवतीले प्रयोग गरेको मोबाइलसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।