धरान: धरान १५ स्थित होलिल्याण्ड स्कुल प्रदेश १ स्तरीय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको च्याम्पियन बनेको छ ।

शुक्रबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा होलिल्याण्ड स्कुलले चिल्ड्रेन एकेडेमीलाई ४४–३३ अंकको अन्तरले पराजित गर्दै रनिङ्ग कप उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलको प्रत्येक क्वार्टरमा होलिल्याण्डले अग्रता बनाउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको प्रत्येक क्वार्टरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ अंकको अन्तर बनाएको थियो । खेलमा होलिल्याण्डका यूडी लिम्बूले व्यक्तिगत १५ अंक जोडे भने चिल्ड्रेनका पारुहाङ्ग लिम्बूले २० अंक जोडेका थिए । होलिल्याण्ड स्कुलले उपाधिसँगै नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

20220805_174426

त्यसैगरी, उपविजेता चिल्ड्रेन एकेडेमीले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । विजेता टिमलाई कार्यक्रमका सभाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बू, विद्यालय शैक्षिक गुठी कार्यसमितिका कार्यवाहक अध्यक्ष लेफ्टिनेन्ट भीमबहादुर लिम्बू, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि होलिल्याण्डका यूडी लिम्बूले प्राप्त गरे । यसैगरी, प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्डकै इङवाहाङ लिम्बूले हात पारे ।

उनले प्रतियोगिताभरि चार खेलबाट व्यक्तिगत ७७ अंक जोडेका थिए । उनीहरुलाई जनही दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा श्रावण १५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । लिम्बूको ८३ वर्षको उमेरमा वि.स. २०७८ श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

शुक्रबार भएको फाइनल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री विष्णु तुम्वाम्फेले रेफ्रिलाई बल हस्तान्तरण गरी गरेका थिए । कार्यक्रममा डिपो आर्दश बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राई, विद्यालय व्यवस्थापन समिति सदस्य सूर्यप्रकाश पन्धाक, उपासी राई, इन्द्ररानी सुब्बा, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।