विराटनगरः प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सरुवा भएका सचिव उद्धवप्रसाद रिजालको आज औपचारिक रुपमा बिदाइ गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिव रिजालको यही श्रावण १२ गते सरुवा भएको हो । धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनेगरी उनको सरुवा भएको छ । रिजालले आफू बुधबार नै धरान हाजिर हुन जाने बताएका छन् ।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव विनोदप्रकाश सिंहले सचिव रिजाललाई मायाको चिनो प्रदान गरे । उक्त अवसरमा प्रमुख सचिव सिंहले छोटो समयको सङ्गतमा रिजाललाई कामप्रति लगाव भएको एक जुझारु कर्मचारीको रुपमा आफूले बुझेको अनुभव सुनाए । बिदाइ हुने क्रममा सचिव रिजालले आफ्ना लागि बिदाइ कार्यक्रम कुनै नौलो नभएको उल्लेख गर्दैै अहिलेको बिदाइ २५ औँ पटकको भएको बताए ।
सचिव रिजाल सहसचिवमा बढुवा भएपछि पहिलो पटक प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७८ माघ २७ गते हाजिर भएका थिए । त्यसअघि उनी संघीय सरकारको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव सरहको कर्मचारीको रुपमा कार्यरत थिए । रिजालले २०४७ सालमा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाबाट मुखिया पदबाट जागिर सुरु गरेका हुन् ।
स्थानीय तहमा रिजाल छैटौं पटक प्रमुख प्रशासकीय अधिकृतका रुपमा जान लागका हुुुन्् । यसअघि उनी भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सोही जिल्लाको मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसकेका छन् । त्यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसकेको उनको अनुभव छ ।