धरानः यलम्बर बास्केटबल क्लबको आयोजनामा आयोजित यलम्बर समर बास्केटबल लिगको उपाधि एलाइनेटर्स बास्केटबल टिमले चुमेको छ ।

असार ८ गतेदेखि सुरु भएको एक महिनाभन्दा लामो लिगको शनिबार भएको फाइनल खेलमा एलाइनेटर्सले वुल्भस बास्केटबल टिमलाई ८८–८० अङ्को अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतिस्पर्धात्मक भएको फाइनल खेलको पहिलो क्वाटरमा वुल्भस टिमको तालमेल नमिल्दा एलाइनेटर्ससँग ३१–१६ अङ्कले पछि परेको थियो । एलाइनेटर्सलाई रोक्दै वुल्भसले १६–१७ अङ्क जोड्दै दोस्रो क्वार्टरमा भने झिनो अन्तर बनाएका थिए । मन्ध्यान्तरपछि तेस्रो क्वार्टरमा एलाइनेटर्सले खेललाई नियन्त्रणमा लिँदै ३२–२४ अङ्कको अन्तर बनाउदै अग्रतालाई कायम राखेका थिए । अन्तिम चौथो क्वाटरमा वुल्भसले १९– २३ जोड्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेनन् ।

20220730_205012 (2)

समर लिगभरि उत्कृष्ट प्रदर्शन गरेका एलाइनेटर्सका विवेकमणि श्रेष्ठले उपाधि जिताउन व्यक्तिगत ३० अङ्क जोडे । उनले उपाधिसँगै उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते । वुल्भसको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दिवस राईले समेत व्यक्तिगत ३० अङ्क जोडेका थिए । उनले लिगभरि हाइस्कोर गर्दै हाइ स्कोररको उपाधि जिते । उनले समर लिगमा आठ खेलबाट ३ सय २२ अङ्क व्यक्तिगत जोडेका थिए । फाइनल खेलको उत्कृष्ट खेलाडी एलाइनेटर्सका शिशिर राई घोषित भए । फाइनल खेलमा उनले व्यक्तिगत २८ अङ्क जोडे । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

समर लिगका विजेता तथा उपविजेता टिमलाई ट्रफि प्रदान गरिएको थियो । उनीहरुलाई धरान बास्केटबल संघका सँस्थापक तथा पूर्वबास्केटबल खेलाडी डिएसपी खगेन्द्र रिजाल, प्रदेश १ बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, पूर्वबास्केटबल खेलाडी देवराज राई, सहयोगदाता भिम राई, धरान बास्केटबल संघ सदस्य हेमन्त राई लगायतले पुरस्कार वितरण गरेका थिए । लिगको फाइनल खेलको मध्यान्तरमा थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो ।

sushma add.

थ्री पोइन्ट कम्पिटसनको उपाधि वुल्भस टिमका दिवस राईले जिते । उनले सात सटमा ५ बास्केट गर्दै उपाधि जितेका हुन् । उनका प्रतिस्पर्धीले ३ बास्केट गरेका थिए । विजेता राईलाई ट्रफि प्रदान गरिएको थियो । यलम्बर समर बास्केटबल लिग रनिङ्ग कपको रुपमा निरन्तर आयोजना हुने लिगका संयोजक युगल लिम्बूले जानकारी गराए । दोस्रो सँस्करण थप व्यवस्थित रुपमा आयोजना हुने उनले बताए । लिगको सम्पूर्ण खेल धरान ८ यलम्बर खेल मैदानमा सम्पन्न भएको थियो ।