धरानः सियोन स्कुलको आयोजनामा शुक्रबार आयोजित एक दिने सियोन स्कुल थ्री बाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।

महिला तर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ र पुरुषतर्फ डिपो स्कुललाई ९–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । अत्यन्त प्रतिस्पर्धात्मक भएको पुरुष तर्फको खेलमा भने निर्धारित समय सकिँदा दुवै टिमले बराबर ७–७ अङ्क जोडेपछि समय थप गरिएको थियो । थप समयमा होलिल्याण्डले दुई पोइन्ट जोड्दै ९–७ अङ्कको नतिजा ल्याउँदै विजयी भएको थियो । उपाधिसँगै विजेता होलिल्याण्ड स्कुलका महिला र पुरुष दुवै टिमले नगद चार हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

20220729_203514

उपविजेता महिला तर्फका सियोन स्कुल र पुरुष तर्फका डिपो स्कुलले नगद दुई हजार रुपैयाँ, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधिमाथि पनि दुवैतर्फ होलिल्याण्ड स्कुलले नै कब्जा जमाएको छ । पुरुषतर्फ युडी लिम्बू र महिलातर्फ सन्ध्या राई उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी, उदयीमान खेलाडीमा महिला तथा पुरुष दुवैतर्फ आयोजक सियोन स्कुलका सम्झना राई र संयोग राई घोषित भए । उनीहरुलाई जनही नगद एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराई, सियोन स्कुलका अध्यक्ष खड्क थापामगर, प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, मुवाथाइ किक बक्सिङ्गका सुनसरी अध्यक्ष एलकोन मगर लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सेमिफाइनलमा महिलातर्फ सियोन स्कुलले चिल्ड्रेन स्कुललाई र होलिल्याण्ड ए ले होलिल्याण्ड बी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । त्यसैगरी, पुरुषतर्फ डिपो स्कुलले आयोजक सियोन स्कुल र होलिल्याण्ड स्कुलले तरहरा ए टिमलाई परिजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थीसहितका पुरुषतर्फ १२ टिम र महिला तर्फ ५ टिमले सहभागिता जनाएको थियो ।