इटहरीः सुनसरीको जिल्ला मतदात केन्द्र सिफारिस समितिले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ मा रहेको मतदानस्थलसहित सुनसरीको हरिनगरा र बर्जुका एक एक मतदानस्थल सार्ने निर्णय गरेको छ ।
मतदान केन्द्र सिफारिस समितिको बिहीबार बसेको बैठकले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४ को मतदानस्थल उपमहानगरपालिकाको कार्यालय रहेकोमा अब सोही वडामा रहेको कचना महादेव माध्यमिक विद्यालयमा सार्ने निर्णय गरेको छ । त्यसैगरी, इटहरी उपमहानगरकै वडा नम्बर ५ मा रहेको ज्याति मावि हलगडा मतदानस्थललाई सोही वडामा रहेको जनता बहुमुखी क्याम्पस पचरुखीमा सार्ने निर्णय भएको छ । इटहरीका यी दुवै मतदानस्थलमा मतदाताको अत्याधिक चाप हुने गरेको भन्दै मतदाताको चापलाई व्यवस्थापन गर्न मतदानस्थल सार्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
मतदानस्थल सिफारिस समितिले बर्जु गाउँपालिकाको वडा नम्बर २ मा रहेको सार्वजनिक राष्ट्रिय आधारभूत विद्यालय बेलगाछि मतदानस्थललाई मतदाताको पायक नपरेको भन्दै सोही वडाको रामसीता मावि भीमपुरमा सार्ने निर्णय गरेको छ भने हरिनगरा गाउँपालिकाको वडा नम्बर ५ मा रहेको आधारभूत विद्यालय सिसुवा धरमपुरको मतदानस्थललाई सोही वडाको बीपी आधारभूत विद्यालय भीमपुरमा सार्ने निर्णय गरेको छ । सुनसरीका बाँकी मतदानस्थललाई यथावत राख्ने निर्णयसमेत सिफारिस समितिले गरेको छ । सिफारिस समितिको बैठक प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको थियो भने जिल्लाका राजनीतिक दल, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।