इटहरीः सिटी सफारी चलाएर स्वरोजगार बनेका इटहरीका सफारी चालकहरुले स्वरोजगार यातायात मजदुर संगठन अन्तर्गतको स्वतन्त्र सिटी सफारी इटहरी उपमहानगर कमिटी गठन गरेका छन् ।
सिटी सफारी चालकहरुका साझा समस्याको समाधानका लागि पहल गर्ने र मजदुरुहरु एकै ठाउँमा उभिने संकल्पसहित उनीहरु मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ अन्तर्गतको स्वरोजगार यातायात मजदुर संगठनमा आबद्ध भएका हुन् । यसअघि विधानसमेत निर्माण गरेर नवबिहानी स्वतन्त्र सफारी संघ निर्माण गरेका सिटी सफारी चालकहरु अहिले भने आफ्नो टे«ड युनियन अधिकारका लागि औपचारिक रुपमै स्वतन्त्र मजदुरहरुको संगठनमा जोडिएका छन् । आफूहरु विशुद्ध श्रमजीवीको अधिकारका लागि राजनीतिक आस्था बिर्सिएर स्वतन्त्र सिटी सफारी संगठनमा आबद्ध भएको उनीहरुले बताएका छन् ।
बिहीबार इटहरीको स्वतन्त्र सडक व्यापार संगठनको कार्यलयमा भएको सिटी सफारी चालकहरुको भेलाले शुक्रबहादुर तामाङ्गको अध्यक्षतामा नयाँ स्वतन्त्र सिटी सफारी संगठन इटहरी उपमहानगर कमिटी गठन गरेको छ । संगठनको उपाध्याक्षमा सञ्जीव शर्मा, सचिवमा गायत्रीकुमार श्रेष्ठ र सहसचिवमा पूर्णबहादुर दर्जी चयन भएका छन् भने कोषाध्यक्षको पद हाललाई खाली राखिएको छ । संगठनको इटहरी उपमहानगर इन्चार्जमा इटहरीका सक्रिय युवा तथा समाजसेवाको क्षेत्रमा काम गरिरहेका इटहरी ४ का झलक वनलाई चुनिएको छ भने सहइन्चार्जमा सोभित महरालाई चुनिएको छ ।
संगठनका सदस्यहरुमा गोविन्दकुमार श्रेष्ठ, योगेन्द्र श्रेष्ठ, रमेश ताजपुरिया, रामकृष्ण भण्डारी, नवीन लिम्बू, शिवनारायण चौधरी, वासुदेव दाहाल, देवराज आचार्य, र गणेश दाहाल छन् । बिहीबार नै बसेको भेलाले प्रचारप्रसार विभागको संयोजकको जिम्मा विवेक विश्वकर्मालाई दिएको छ । स्वतन्त्र सडक व्यापार संगठनका उपमहासचिव प्रदीप तामाङ्गको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कृषि मजदुर संगठनका सुनसरी अध्यक्ष रमेश भट्टराईले आत्मसम्मान सहितको पेसा अवलम्बन गर्न स्वतन्त्र सिटी सफारी संगठनका सदस्यहरुलाई आग्रह गरे भने सार्वजनिक यातायात व्यवसायी संघ प्रदेश १ का महासचिव रमेश खत्रीले आफ्नो संगठनमा पनि सफारी चालकहरु आबद्ध हुन सक्ने र आवश्यक परेको खण्डमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी, युवा नेता तथा समाजसेवी झलक वनले सिटी सफारी चालकहरुको समस्यामा साथ दिन आफूले सक्दो सहयोग गर्ने बताए । आफू विगतका दिनमा वैदेशिक रोजगारीमा सवारी चालकको रुपमा काम गरेर फर्किएपछि सक्रिय रुपमा समाजसेवामा लागेको बताउँदै वनले पेसालाई मर्यादित बनाएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा स्वतन्त्र सडक व्यापार संगठनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद वस्तीले सबैलाई सम्मानजनक शब्द प्रयोग गर्नुपर्ने र संगठन मजबुत हुँदै गएपछि हप्काउनेहरु आफैँ सम्मान गर्न आइपुग्ने बताए । नेपाल टाठाबाठाहरुको मात्र राज्य भएकाले आफ्नो अधिकार माग्नका लागि संगठित हुनुपर्ने वस्तीले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएकी एकीकृत ट्रेड युनियन महासंघ राष्ट्रिय कमिटी सदस्य तथा प्रदेश एक कमिटीकी अध्यक्ष निलम ढुङ्गेलले मजदुरहरुको हितका लागि संगठन भएकाले संसारभरका मजदुरहरु एक भएर राजनीतिक आस्थालाई टाढै राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन । उनले सिटी सफारी मजदुर संगठनका सदस्यहरुलाई सम्बोधन गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा आफूले गल्ति गरेर संगठनले मलाई हेरेन भनेर नभन्न अनुरोध गरिन् ।
आफू पनि लामो समय गार्मेन्टमा मजदुरी गरेर आएको बताउँदै ढुङ्गेलले आज यो स्थानमा आउनुभन्दा पहिले थुप्रै मजदुर आन्दोलनहरु गरेर आएको समेत स्मरण गर्न भ्याएकी थिइन । बिहीबारको कार्यक्रम नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका केन्द्रीय सल्लाहकार टेकनाथ भटराई, नेपाल सुरक्षा श्रमिक संगठन झापाका पूर्णबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो । झण्डै तीन दर्जनको संख्यामा उपस्थित भएका सिटी सफारी चालकहरुले आफूहरुको समस्यामा साथ दिन संगठन निर्माण भएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रम शुक्रबहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।