इटहरीः तीनदिने भ्रमणका सिलसिलामा हिजोदेखि गृहजिल्ला झापामा रहेका नेकपा एमालेका संघीय अध्यक्ष केपी शर्मा ओलीले आफूलाई २०६४ सालको चुनावमा हराएर त्यसको एक वर्षमै आफ्नो क्षेत्रका जनताले पछुताएको बताएका छन् ।
पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेका थिए,’ अध्यक्ष ओलीले भने, ‘त्यो प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको छ । गल्ती कहिले–कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन। अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’
गत वैशाख ३० गते देशैभर सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पनि ओलीको गृहनगर दमकमा उनको पार्टीले हार व्यहोरेको थियो । यस विषयमा पनि ओलीले आजको कार्यक्रममा असन्तुष्टि पोखेको सुनिन्थ्यो । उनी भन्दै थिए, ‘अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न म आग्रह गर्दछु, । हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो । पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’