विराटनगरः प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटिलाल माझीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा उनको निधनले कार्यालयले एक असल र अनुभवी कर्मचारी गुमाएको उल्लेख गरका छन् ।
माझी प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । सुनसरी दुहवी–७, फर्साही स्थायी घर भएका ४९ वर्षीय माझीको अन्तिम संस्कार सुनसरी दुहवीको बूढीगंगा विश्रान्ति आर्यघाटमा गरिएको छ ।
मुख्यमन्त्री कार्यालयका कर्मचारी माझी श्रावण ९ गते बिहान अचानक बेहोस भएका थिए । उनलाई तत्कालै मोरङ टंकिसिनवारीस्थित विराट टिचिङ अस्पताल पु¥याउँदा चिकित्सकले मस्तिष्कघातको आशंका गरेकोमा उपचारकै क्रममा बुधबार दिउँसो उनको निधन भएको हो । स्वर्गीय माझीको अन्तिम सँस्कारमा मुख्यमन्त्रीसहित सचिवालयका सदस्य एवं सल्लाहकारहरूका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो । स्वर्गीय माझीको परिवारमा श्रीमती र एक छोरी, ज्वाइँ रहेका छन् ।