धरानः सुनसरीको धरान उपमहानगरपालिकामा कार्यरत करारका कर्मचारी हटाउन माग गर्दै नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा सङ्घ नेपालले ध्यानाकर्षणपत्र बुझाएको छ ।
सोमबार सङ्घले धरान उपमहानगरपाकिाका उपप्रमुख अइन्द्रविक्रम बेघालाई करार कर्मचारी हटाउने माग राखेर ध्यानाकर्षणपत्र बुझाएको एकीकृत समाजवादीका नगर सहसचिव रिकेश विश्वकर्माले जानकारी दिए । सङ्घका धरान अध्यक्ष हिमालजङ्ग खड्काद्वारा हस्ताक्षरित पत्रमा ऐनविपरीत नियुक्त भएका कर्मचारीको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
साथै विज्ञापन प्रकाशन गरी अन्तरवार्तासमेत लिएका स्वास्थ्य कर्मचारी तथा कार्यालय सहयोगीको नतिजा सार्वजनिक गर्न, करारका कर्मचारीलाई बिदा गरी स्थायी पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगमा माग गर्न, करारका कर्मचारीहरुले मदिरा सेवन गरी इलाका प्रहरी कार्यालयमा पटकपटक खराब आचारणको रेकर्ड भएकाले उनीहरुको पहिचान गरी आवश्यक कारबाही गर्न र नगर प्रहरीहरुको नियुक्ति मितिमा देखिएका समस्या पहिचान गरी कारबाही गर्न संघले माग गरेको हो ।