इटहरीः पोखरापछि आफ्नो सम्पत्ति सार्वजनिक गरेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ४ बिघा जग्गा, ८० तोला सुन र ३ करोड रुपैयाँ मूल्यको कार आफ्नो सम्पत्तिका रुपमा देखाएका छन् । 

मेयर कोइरालाले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ बिघा जग्गा रहेको उल्लेख गरेका छन् । मेयरको आफ्नो नाममा रहेको जग्गा र अन्य सम्पत्ति मात्र विवरणमा उल्लेख गरिएको बताइएको छ । 

महानगरलाई प्राप्त विवरणअनुसार मेयर कोइरालाको नाममा विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कठ्ठा जग्गा  छ । उक्त सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ति रहेको उनले भरेको विवरणमा उल्लेख छ । यस्तै विराटनगर ११ मा पैत्रिक सम्पत्तिबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । यद्यपि उक्त जग्गा भाइको नाममा रहेको कैफियतमा उल्लेख गरिएको छ । 

कोइरालाले २० वर्षअगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताएका छन् । त्यसबेला ८ लाख रुपैयाँमा खरिद गरिएको सुन भाउमा वृद्धि भएसँगै करोडौँ हाराहरीको मूल्याङ्कनमा पुगेको छ ।  यस्तै उनको सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको छ । उक्त नगद पनि पैत्रिक सम्पत्तिबाटै आएको उनले उल्लेख गरेका छन् ।

कोइरालाले आफ्नो नाममा टोयोटाको प्राडो १ थान रहेको बताएका छन् । जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उक्त प्राडो पनि पैत्रिक सम्पत्तिबाटै खरिद गरेको उल्लेख छ ।