इटहरीः सुनसरीको धराान उपमहानगरपालिकामा राजनीतिक पार्टीहरुबाट निर्वाचित वडा अध्यक्षहरुले दवाव दिएपछि आइतबार निस्कासन गरिएको भनिएका ८ जना करारका कर्मचारीको जागिर थमौति गरिएको छ ।
नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले धरान उपमहानगरपालिकाबाट करारका कर्मचारीहरुलाई नहटाउन दबाब दिएपछि ती पार्टीबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको दबाबमा ८ जना करारका कर्मचारीको म्याद थप भएको हो ।
मेयर हर्क साम्पाङलाई करार कर्मचारी नहटाउन दबाब दिएपछि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हाजिर हुन नदिइएका ८ जना करार कर्मचारीहरुको करार नवीकरण गर्न सहमत भएको पाइएको छ ।
प्रमुख राजनीतिक दलबाट निर्वााचित बहुमत कार्यपालिका सदस्यहरुले दबाब दिएपछि मेयर साम्पाङ अडानबाट पछि हटेका हुन् । प्राप्त जानकारीअनुसार लामो समयदेखि कार्यरत ८ जना इञ्जिनियर तथा प्राविधिकतर्फका करार कर्मचारीहरुको भने करार अवधि थप्ने सहमति भएको छ ।
ती प्राविधिक कर्मचारीहरुमध्ये अधिकांश राजनीतिक नियुक्ती नभई परीक्षा दिएर प्रक्रियाअनुसार नै नियुक्त भएका पाइएको छ । लोकसेवा आयोगले बारम्बर करारमा लामो समय कर्मचारी राख्न नमिल्ने भन्दै आपत्ति जनाएपछि उनीहरुलाई पनि हटाउने प्रक्रिया सुरु भएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले दिएको जानकारीअनुसार ती ८ जना करार प्राविधिक कर्मचारीहरुलाई लोक सेवा आयोगबाट स्थायी कर्मचारी नआएसम्म करार अवधि थप गरिने भएको छ । उपमहानगरले आयोगसँग कर्मचारी माग गर्ने र आयोगले पठाएपछि भने बिदा दिइने उनले बताए । हाजिर गर्न नपाएकामध्ये १० जना करार कर्मचारीहरुको हकमा भने करार नवीकरण गर्ने सम्भावना नभएको बताइएको छ ।