धरानः डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ ।

डिपो विद्यालय व्यवस्थापन समितिका सँस्थापक अध्यक्ष दिवंगत लिम्बूको स्मृतिमा श्रावन १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए । धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुने विद्यालयस्तरीय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुले सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बूले पत्रकार सम्मेलनमा बताए ।

डिपो स्कुल यहाँसम्म आइपुग्न दिवंगत मेजर श्रवणकुमारको ठूलो योगदान रहेको हुनाले उनको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लिम्बूले जनाए । परिवारले प्रतियोगिता नियमित आयोजनाका लागि भने चाँडै नै छुट्टै अक्षयकोष स्थापना गर्ने दिवंगत मेजर श्रवणकुमारका छोरा सुधीर लिम्बूले उद्घोष गरे ।  प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद सात हजार पाँच सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको

 अन्तिम मिति श्रावण १२ गते रहेको छ भने, १३ गते खेल तालिका सार्वजनिक गरिने डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगिता दर्ता शुल्क एक हजार पाँच सय लाग्नेछ ।दिवंगत लिम्बू २०५९ देखि २०७८ सम्म डिपो सार्वजनिक शैक्षिक गुठीका सँस्थापक अध्यक्ष रहेका थिए । यस्तै, २०४७ देखि २०६२ सालसम्म विद्धालय व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार तथा २०६२ देखि २०७८ सालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा उनले काम गरेका थिए ।

उनको नेतृत्वमा विद्यालयको निरन्तर विकास भई प्लस टु तहसम्म स्तरवृद्धिलगायत विद्यालयको विकासमा विभिन्न योगदान भएको अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बूले बताए । आइतबार धरान १६ स्थित जेसन रेस्टो, क्याफे एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अफ ट्रस्टिजका कार्यवाहक अध्यक्ष भिमराज लिम्बू, विद्यालय व्यवस्थापन समिति सदस्य वीरेन्द्रविक्रम लिम्बू, सदस्य सूर्य पन्धांक लिम्बू, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, धरान बास्केटबल संघका सँस्थापक डिएसपी खगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका सम्पूर्ण खेलहरु डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछन् ।