इटहरीः प्रदेश नामकरणको बहस चलिरहेको समयमा प्रदेश नं. १ प्रदेशसभाको बैठक आज दिनको १ः०० बजे बस्ने भएको छ ।
असार १९ गते बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक आइतबार १ः०० बजे बस्ने सूचना छ । तर प्रदेशसभामा कुन विषयमा छलफल हुने भन्ने कार्यसूची भने तय गरिएको छैन । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । बजेट पास भएदेखि नबसेको प्रदेशसभामा प्रदेश नामरणको विषयले स्थान पाउने चर्चा रहेपनि त्यो निश्चित नभएको बताइएको छ । सरकार र दलहरुले यो अधिवेशनमा प्रदेशको नामकरण गर्ने बताएपनि अहिलेसम्म नामबारे सहमति जुटेको छैन ।
मुख्यमन्त्री र सभामुखको आव्हानमा २ पटकसम्म बसेको सर्वदलीय बैठकले प्रदेश नामकरणको विषयमा ठोस निर्णय लिन नसकेपछि नामकरणको विषयले प्रवेश पाउने सम्भावना कम रहेको आँकलन गरिएको छ । आजको बैठकमा प्रदेशसभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरी छलफल अगाडि बढाउने संभावना रहेको छ । बैठकको कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकपछि तय हुनेछ । सभामुखको अध्यक्षतामा रहने समितिको बैठक प्रदेशसभा बैठक बस्नुअघि बसेर कार्यसूची तय गर्ने बताइएको छ ।