धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पकुवा खोला खानेपानी परियोजनाको काम ९९ प्रतिशत पूरा भएको बताएका छन् ।
शनिबार साम्पाङ वृक्षारोपण गर्न पकुवा खोला पुगेका थिए । उनले पकुवा खोलाबाट खानेपानी धरान लैजाने काम ९९ प्रतिशत पूरा भएको बताएका हुन् । उनले निशाने खोलाबाट पनि धरानमा पानी ल्याउन अभियान सुरु गरेका छन् । उनको अभियानमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले पनि साथ दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जनश्रमदानबाट खानेपानीका पूर्वाधारहरु निर्माण गर्ने क्रममा निशाने खोलामा छौँ आज । ’ यसले धरानमा पानी ल्याउन मेयर सामपाङको अभियानमा उपमेयर बेघाको पनि साथ रहेको स्पष्ट हुन्छ । शनिबार पकुवा खोलामा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ । सर्वसाधारणको सहभागितामा वृक्षारोपण गरिएको हो ।