इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा प्रदेशको नामकरणको विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन शुक्रबार प्रदेशसभा सहभागी सबै दलहरूको बैठक बसेको थियो । सभामुख भण्डारीले अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक टुङ्गिएको बताएका छन् ।
दलैपिच्छेका फरक नाम प्रस्ताव भएपछि सर्वदलीय बैठकले नामकरणको विषयलाई टुङ्गोमा पुर्याउन सकेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेले कोसी, सगरमाथाजस्ता नाम प्रस्ताव गरेका छन् भने नेकपा एस र नेकपा माओवादी केन्द्र पहिचान सहितको नाममा अडिग रहेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा मुख्यमन्त्री रोजेन्द्रकुमार राईले त पटकपटक प्रदेशको नाम ‘किराँत प्रदेश’ हुनुपर्ने अभिव्यक्ति नै दिएका छन् । शुक्रबारको बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभामै प्रक्रियामा जान प्रस्ताव गरेको छ ।
शुक्रबारै प्रदेशसभाको बाहिर किराँत राई यायोक्खाको समूहले किराँत प्रदेश नामकरणको माग गर्दैै साकेला सिली प्रदर्शन गरेको छ । बिहीबार १४ वटै जिल्लाबाट भेला भएका लिम्बूवान समर्थकहरुले ‘लिम्बूवान किराँत’ नामकरणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । कोसी, सगरमाथा, किराँत, लिम्बूवान किराँतजस्ता नाम अहिले चर्चामा छन् ।