इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा कार्यरत करारका कर्मचारीमध्ये १८ जनाको हाजिर गर्न बन्द गरिएको छ । 

करारमा रहेका उनीहरुलाई म्याद थप्ने या नथप्ने भन्ने विषयमा अन्यौलता रहेका कारण हाजिर गर्न नै नदिइएको हो । उपमहानगरपालिकाले हाजिरी खातामै सूचना टाँस गरेर हाजिर गर्न रोक लगाएको बताइएको छ । हाजिर गर्न नपाएका कर्मचारीमा २ जना इञ्जिनियरसहित १८ जना करारका कर्मचारीहरु छन् । उपमहानगरपालिकाले  प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल काठमाडौँ गएकोले नफर्केसम्म हाजिर नगर्न उक्त सूचनामा भनेको छ ।

हाजिर गर्न नपाएका कर्मचारीमा प्राविधिक तर्फका ८ जना, नगरपालिकामा सञ्चालित विभिन्न कार्यक्रम तर्फका ९ जना र  नगर प्रहरी एक जना रहेका छन् । विभिन्न कार्यक्रम तर्फका कर्मचारीहरु केही राजनीतिक नियुक्तिमा आएको बुझिएको छ । प्राविधिक तर्फका ८ जना कर्मचारीमध्ये २ जना इन्जिनियर, ४ जना सवइन्जिनियर र २ जना अमिन रहेका छन् । हाजिर गर्न नपाएका कर्मचारीमध्ये केही कर्मचारी अघिल्ला जनप्रतिनिधिले राजनीतिक नियुक्ति दिएर कार्यरत रहेका थिए ।

उनीहरुको करारनामा असार ३२ गते सकिएको थियो भने सोको नवीकरण नभएपछि उनीहरुले हाजिर गर्न नपाएका हुन् । कार्यपालिकामा छलफल नभएका कारण उनीहरुको म्याद थप्ने अथवा बिदा गर्ने भन्ने टुङ्गो लागिनसकेको उपमहानगरपालिकाले जनाएको छ ।

name list.