धरान: नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजले ‘एक सरकारी कार्यालय एक बस’ को व्यवस्था गर्न माग गरेको छ ।

बुधबार समाजले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई ११ बँुदे ध्यानाकर्षणपत्र बुझाउँदै एक सरकारी कार्यालय एक बसको व्यवस्था गर्न माग गरेको हो । समाजले फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न, भीआईपीका सेवासुविधा खारेज गरी बिदाका दिनमा सरकारी गाडी सञ्चालनमा रोक लगाउन, विद्युत र खानेपानीको मिटर जडान निःशुल्क गर्न, सुकुम्बासीबाट लिएको धरौटी तत्काल फिर्ता गर्न र धरौटी राख्ने व्यवस्था हटाउन माग गरेको छ ।

294670603_2010480762484201_5894872026752957034_n

साथै, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन पहल गर्न, घरधुरी करलाई वार्षिक ५० रुपैयाँ बनाउन, मूल्यवृद्धि नियन्त्रण गर्न, सुकुम्बासी क्षेत्रको प्राकृतिक विनाश नियन्त्रण तथा बृहत्तर सुकुम्बासी क्षेत्र विकास कोष स्थापना गर्न, जोखिमयुक्त स्थानमा बसेकालाई जोखिममुक्त गराउन माग गरेको हो । सुकुम्बासीलाई घर बनाउन घुम्ति कोष स्थापना गरी ५ लाखदेखि ५० हजार रुपैयाँसम्म ऋण सहयोग गर्न, सुुकुम्बासीलाई बसोबास गरेकै स्थानमा श्रेष्ता कायम गर्न र सुकुम्बासीको र नगरको समन्वयमा नमुना पालिका बनाउनसमेत समाजले माग गरेको छ ।

293956513_743459986931496_949965136325976525_n