धरानः धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा आयोजित धरान मेघा थ्री बाइ थ्री एसईई लेबल खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमीले चुमेको छ । 

बुधबार भएको अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलमा चिल्डे्रनले होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने होलिल्याण्ड स्कुलले नगद तीन हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । आयोजकले विजेतालाई नगद पाँच हजार र उपविजेतालाई दुई हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता तथा उपविजेता टिमलाई एक एक हजार रुपैयाँ थप गरिदिएका हुन् ।

20220720_124130

चिल्ड्रेन स्कुलका खेलाडी पारुहाङ्ख चोम्जोङ्गको उत्कृष्ट प्रदर्शनले चिल्ड्रेन स्कुल उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका चेम्जोङ्गले फाइनल खेलमा व्यक्तिगत ८ अंक जोडेका थिए । उनले उपाधिसहित नगद ६ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी पुरस्कार आयोजकले एक हजार नगद घोषणा गरे पनि कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष समाजसेवी प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडीलाई थप नगद पाँच हजार रुपैयाँ प्रदान गरेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, कार्यक्रमका प्रमुख अतिथि धरान १८ न. वडाध्यक्ष प्रवीण राई, सियोजन स्कुलका अध्यक्ष खड्क थापामगर, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल र धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

20220720_124814

दुईदिने प्रतियोगिताको सेमिफाइनल खेल भने बुधबार नै फाइनल खेलअघि खेलाइएको थियो । सेमिफाइनल खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ११–१ र होलिल्याण्ड स्कुलले कामे्रल स्कुललाई १२–७ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । ५ कक्षादेखि यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।