इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलले आगामी निर्वाचनअघि नै इटहरीमा ओभरहेड ब्रिज अर्थात् आकाशे पुलको निर्माण सुरु हुने बताएकी छन् ।
मङ्गलबार इटहरी चौकमा प्रदेश सरकारको यातायात तथा सञ्चार मन्त्रालयको बजेटमा निर्माण भएको स्मार्ट ट्राफिक लाइटको उद्घाटन समारोहमा उपस्थित भएकी उपसभामुख पोखरेलले आफ्नै कार्यकालमा इटहरीको आकाशे पुलको निर्माण सुरु हुने उद्घोष गरेकी हुन् । सुनसरीको इटहरीमा प्रदेश १ सरकारले आकाशे पुलको अवधारणा अघि बढाइसकेको बताउँदै उपसभामुख पोखरेलले लामो समयदेखि इटहरीवासीले प्रतीक्षा गरेको आकाशे पुल निर्माणलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताइन् ।
हालै सार्वजनिक भएको प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रममा इटहरीको आकाशे पुललाई प्राथमिकता दिइएको र आफ्नै पालामा कामसमेत सुरू भइसक्ने उपसभामुख पोख्रेलको भनाइ थियो । प्रदेश १ सरकारले इटहरीको मुख्य चौकको नक्साङ्कन गरेरै राजपत्रमा समेत परेको योजना भएकाले आकाशे पुल बन्नेमा ढुक्क हुन उनले इटहरीवासीलाई आग्रह गरेकी थिइन् । ‘अब एक बन्छ, दुई बन्छ , इटहरीमा आकाशे पुल बन्छ बन्छ ’ उपसभामुख पोख्रेलको दाबी थियो । इटहरीले भोग्दै आएको डुबानको समस्या समाधानका लागि पनि प्रदेश सरकारको ध्यान गएको उनले बताइन् ।