धरानः धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा आयोजित धरान मेघा थ्री बाइ थ्री एसईई लेबल खुल्ला बास्केटबल प्रतियोगितामा होलिल्याण्ड स्कुल ए, कामे्रल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

आज मङ्गलबारदेखि सुरु भएको दुईदिने प्रतियोगितामा होलिल्याण्ड ए टिमले युएुन स्कुललाई ८–३, काम्रेल स्कुलले सयपत्रि स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड बी टिमलाई ८–० अङ्कको अन्तरले क्वार्टरफाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । वुधबार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चिल्ड्रेन स्कुलले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा काम्रेल र होलिल्याण्ड स्कुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलमा विजेता टिमले सोही दिन फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

20220719_171843

प्रतियोगिताका विजेता टिमले नगद पाँच हजार, दोस्रोले नगद २ हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार र उदयीमान खेलाडीले नगद पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरान १२ न. वडाका वडा सदस्य तथा धरान उपमहानगरपालिकाका अर्थ तथा सामाजिक लेखा समिति संयोजक ब्रम्हज्ञ भट्टराई र कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए ।

प्रदेश १ को बास्केटबल खेलको विकासमा धरानको महत्पूर्ण भूमिका रहेको बताउदै आफ्नो वडाबाट बास्केटबल खेल र खेलाडीको विकासका लागि नियमित रुपमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले मन्तव्यको क्रममा वताए । यसका साथै उनले धरान उपमहानगरपालिकामा समेत बास्केटबल खेल विकासको लागि सहयोगको पहल गर्ने जनाए । कार्यक्रममा धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडलले सहभागी खेलाडी तथा उपस्थितहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

20220719_171516

धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान र धरान बाहिरका गरी १८ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक धरान मेघा कलेज रहेको छ भने सह प्रायोजकको रुपमा सगरमाथा एसडी कलेज रहेको छ । उद्घाटन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।