इटहरी: काकाकुल धरानलाई खानेपानी दिने प्रतिबद्धता व्यक्त गरेका धरान उपमहानगरका मेयर हर्क साम्पाङले प्रदेश १ का खानेपानी तथा उर्जा मन्त्री रामकुमार राईलाई सोमबार भेट गरेका छन् ।
उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्रबिक्रम बेघाले खानेपानी मन्त्री रामकुमार राईलाई विराटनगरमै गएर भेटेका थिए । भेटमा मेयर साम्पाङ्गले धरानमा देखिएको खानेपानीको समस्याका बारेमा मन्त्री राईको ध्यानाकर्षण गराएका थिए । मेयर र उपमेयरको टोलीले मन्त्रीलाई वर्षामा पर्ने पानीलाई जलाशय बनाएर हिउँदमा शुद्धीकरणसहित प्रयोग गर्नेगरी जलाशय बनाउन बजेटसमेत माग गरेको बताइएको छ । मन्त्रीले आफूहरुलाई निराश नबनाउने प्रतिबद्धता जनाएको साम्पाङ्गले बताएका छन् ।
धरानमा रहेको खानेपानीको दीर्घकालीन समस्याको समाधानका लागि सप्तकोसीबाट पानी ल्याउने साम्पाङ्गको योजना छ । आफ्नो कार्यकालमा जसरी पनि धरानेलाई पानी ख्वाउने संकल्प लिएका मेयरले दैनिकजसो जलाधार क्षेत्रमा वृक्षारोपण गर्नुका साथै पकुवा खोलाको पानी धरानमा ल्याउन श्रमदान समेत गरिरहेका छन् । सप्तकोसीको पानी धरान ल्याउनका लागि भारतबाट आएको विज्ञ टोलीले सप्तकोसी क्षेत्रको निरीक्षणसमेत गरेको छ भने डीपीआर तयार गर्ने सम्झौतासमेत गरेको छ । पकुवा खोलामा श्रमदान गरिरहेका साम्पाङ्ग पकुवाको प्रोजेक्ट सफल बनेपछि अहिले भने निशाने खोलातिर सरेका छन् ।