विराटनगरः प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन पनि आग्रह गरे । प्रदेश नामकरणका लागि प्रदेशसभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उनले उल्लेख गरेका छन् । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला ।’ उनले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेशसभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरालाई दोहो¥याए । उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरण मात्र गर्ने बताए । 

यसैबीच, मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउने तर्फको रणनीति बनाउन निर्देशन पनि दिएका छन् । उनले जुनसुकै प्रकारका सुरक्षा चुनौती सामना गर्नेगरी तयारी अवस्थामा रहन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति तथा मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।