बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा २ का निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराईले जनप्रतिनिधिको मूल्याङ्कन कर्मचारीमा भरपर्ने बताएका छन् । प्रदेश पोर्टलसँग अनुभव साट्दै उनले जनप्रतिनिधि र कर्मचारीबीचको प्रभावकारी समन्वय हुन नसक्दा जनप्रतिनिधिको कार्यकाल असफल हुने बताए ।

शिक्षण पेसाबाट राजनीति सुरु गरी जनप्रतिनिधिमा निर्वाचित भएर पाँच वर्षीय कार्यकाल सम्पन्न गरेका भट्टराईको सफल छवि बराहक्षेत्रमा रहेको छ । आफ्नो कार्यकालमा आफूले गर्नसक्ने शतप्रतिशत काम गरेको भट्टराईले जिकिर गरे । उनी भन्छन्, ‘मेरो स्रोत र साधनले भ्याएबमोजिम शिक्षा, स्वास्थ्य र कृषिमा शतप्रतिशत योगदान दिएको छु ।’ खासगरी खोला नियन्त्रण र लागूऔषध दुव्र्यसनीलाई सोचेजस्तो नियन्त्रण गर्न नसकेकोमा आफूलाई दुःख रहेको उनको भनाइ छ ।

अनुभवको आधारमा अहिलेका जनप्रतिनिधिलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुधार गर्दै जनप्रतिनिधि पार्टीको नभई जनताको हुन सक्नुपर्दछ ।’ बराहक्षेत्रमा हाल नेपाली कांग्रेसको गठबन्धनको कार्यपालिकामा बहुमत छ । यसको आधारमा पनि कांग्रेससम्बद्व जनप्रतिनिधिले अन्य दलका प्रतिनिधिसँग अलग किसिमको व्यबहार नगर्न उनले सुझाएका छन् ।