बराहक्षेत्रः सुनसरी प्रदेश नम्बर १ को केन्द्रविन्दु हो । झट्ट हेर्दा सुगम मानिएको यस जिल्ला भित्रको कथा भने छुट्टै छ ।

जिल्लाको कान्छो र ठूलो नगरपालिकाको रूपमा रहेको बराहक्षेत्रले दुर्गमतालाई चित्रण गर्ने गर्दछ । त्यसमा पनि वडा नम्बर १ मा रहेको सुर्यकुण्डक्षेत्र र, ६ र ९ मा रहेको श्रीलंका टापु यसका उदाहरण हुन् । यी स्थानहरूमा आजसम्म पनि विकासका आधारभूत पूर्वाधारहरूको समेत पर्याप्तता नहुँदा स्थानीयहरू आजित छन् । खासगरी कोशीकटान, बाढी तथा सुकुम्बासीहरूको चरम समस्या रहेको श्रीलंका टापु क्षेत्रमा स्वास्थ, शिक्षा र सञ्चारजस्ता आधारभूत पूर्वाधारकै पर्याप्त विकास हुन सकेको छैन । यो क्षेत्र सुनसरीको प्रतिनिधिसभा ४ अन्तर्गत पर्दछ । ०७४ सालको संघीय चुनावमा यसै क्षेत्रबाट सांसद पदमा ज्ञानेन्द्रबहादुर कार्कीले चुनावअघि आफूले गरेको वाचाबमोजिम विद्युत्को समस्या भने हल भएको छ ।

सांसद कार्कीको पहलमा यहाँ तीन दशकपछि विद्युत् पुगेको छ । अहिले उनै सांसद कार्की नेपाल सरकारका सूचना, प्रविधि तथा सञ्चारमन्त्री छन् । यद्यपि यहाँको सञ्चार समस्या निराकरण हुने छाँटकाँट नदेखिएको स्थानीयको गुनासो छ । एक राजनीति दलका स्थानीय प्रतिनिधिले (नाम नबताउने शर्तमा) नेटवर्क नहुँदा यहाँको समस्याबारे अनेकन घटनाहरू सुनाए । उनका अनुसार खासगरी रातिको समयमा कोही बिरामी भए भने एम्बुलेन्सलाई फोन गर्न समस्या हुने गरेको छ । यस्तो बेला नेटवर्क आओस् भनेर स्थानीयहरूले प्रार्थना गरेको समेत देखेको उनले बताए । यस्तो समस्या विषेशगरी वडा नम्बर ९ अन्तर्गत पर्ने जनता निम्न माध्यमिक विद्यालय र काली मन्दिर क्षेत्र आसपासमा हुने गरेको छ ।

यहाँका स्थानीयहरूले नेपाल टेलिकम र एनसेलको सिम प्रयोग गर्ने गरेका छन् । ‘एनसेलमा कहीँकतै नेटवर्क आउँदैन, आएपनी खासै बुझिंँदैन, सुनिँदैन’, स्थानीय सन्तोष चन्द्रवंशी भन्छन्, ’आउने भनेको एनटीसीको हो, त्यो पनि पूर्व कोसीछेउतिर आसपासमा मात्र चल्छ, डाँडा भएको ठाउँमा मात्रै चल्छ तर घरभित्र नेटवर्क आउँदैन ।’ उनका अनुसार नेपाल टेलिकमको सिममा समेत बेलाबेला आवाज नबुझिने, फोनमा बोल्दाबोल्दै नेटवर्क जाने, नेट (डाटा) कुनै सिमबाट पनि नचल्ने यहाँको समस्या छ । अर्का स्थानीय बद्री राई भन्छन्, ’मन्त्रीहरू, मेयरहरू आफैँले प्रत्यक्ष भोगेर जानुभएको छ, यहाँ आउँदा नेट नदिने समस्या हाम्रो मोबाइलमा मात्र होइन क्यारे ! यो देखेर उहाँहरूले आफँैले बुझ्नुपर्ने हो ।’

आफ्नो क्षेत्रमा विकासवादी नेताको छवि बनाएका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयलाई सम्बोधन गरेपछि स्थानीयहरू आशावादी बनेको देखिन्छ । स्थानीय तह निर्वाचनअघि बराहक्षेत्र १ को वडा कार्यालयको उदघाट्न गर्ने कार्यक्रममा नगरवासीले नेटवर्कको समस्याबारे सुझाएका थिए । त्यसैलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले यथासक्य चाडो टावरको प्रबन्ध गर्न पहल गर्ने आश्वासन दिएका थिए ।