धरानः धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा धरान मेघा धरान मेघा थ्री वाइ थ्री एसईई  लेवल खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही श्रावण ३ र ४ गते दुईदिने विद्यालयस्तरीय प्रतियोगिता आयोजना  हुन लागेको हो । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा धरानसँगै बिर्तामोड, उर्लाबारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटबल संघले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीले समेत नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धरान बास्केटबल संघको आयोजनामा भर्खरै मात्र ट्यालेन्ट हन्ट बास्केटबल टे्रनिङ्ग क्याम्प संपन्न भएको थियो । ट्यालेन्ट हन्टमा सहभागी एसईई दिएर बसेका प्रतिभावान विद्यार्थी खेलाडीहरुलाई धरानका विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस गर्नेछ । यो प्रतियोगिता बास्केटबल खेलको विकास तथा खेलाडीको स्तरोन्नतिका लागि आयोजना गरिएको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिताको सह प्रायोजकको रुपमा सगरमाथा एसडी कलेज रहेको छ । प्रतियोगिता धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगिताको खेल तालिका श्रावण २ गते कफी पव एण्ड रेस्ट्रोमा सहभागी टिमका प्रतिनिधिको उपस्थितिमा तयार गरिने आयोजकले जनाए ।