इटहरीः १२ वर्षीय संगम कार्की विश्वचर्चित फुटबल खेलाडी रोनाल्डोका फ्यान हुन् । इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने कार्कीको दैनिकी पहिलाभन्दा फेरिएको छ । विद्यालयबाट फर्किएपछि उनी आजभोलि दैनिक इटहरी रंगशालामा भेटिन्छन् । भविष्यमा रोनाल्डोजस्तै फुटबल खेलाडी बन्ने सपना बोकेका कार्की १ महिनादेखि इटहरी रंगशालामा फुटबल तालिम लिन आउने गरेका छन् । फुटबलमा एकदमै रुची राख्ने संगमजस्तै थुप्रै युवाहरुको सपनालाई साकार पार्न लागेका छन् कुनै बेलाका चर्चित राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ्ग । 

संगम कार्कीजस्तै इटहरी ८ का १४ वर्षीय रोहित राजवंशी पनि विद्यालय सक्नासाथ जर्सी, जुत्ता र सानो बोतलमा एक बोतल पानी बोकेर रंगशालातिरै जाने गरेका छन् । सुरेन्द्रसँग फुटबलको तालिम लिन थालेको १ महिनाजति भएको बताउने राजवंशीले स्पोर्टस सिक्नु फुटबलर बन्नको लागि मात्र होइन भन्ने बुझेका छन् । ‘स्पोर्टस सबैमा काम लाग्छ । भोलि देशमा केही गर्न नसकेर विदेशतिर नै जानुपर्यो भने पनि आफ्नो क्षमता प्रस्तुत गरेर स्पोर्टसकै कोर्डिनेसन गर्न सकिन्छ ।’ रोहित भन्दै थिए । इटहरीकै एक सँस्थागत विद्यालयमा पढ्दै गरेका रोहित विद्यालयमा पनि स्पोर्टस टिचरले फुटबल सिकाउने गरेको बताउँछन् । रंगशालामा तालिम लिन आउन थालेपछि आफ्नो खेलमा धेरै सुधार भएको महसुस रोहितले पनि गरेका छन् । 

ran3

साझँको ५ः०० बजेदेखि ६ः३० बजेसम्म इटहरीका झण्डै एक सयको हाराहारीमा युवाहरु रंगशालामा भेला हुने गरेका छन् । जहाँ ५ वर्षदेखि २० वर्ष उमेर समुहलाई सुरेन्द्रको नेतृत्वले फुटबल तालिम प्रदान गरिरहेको छ । २ वर्ष कोरोनाको महामारीले अवरोध गर्यो । त्यसपछि खेलाडी जन्माउने कारखाना बन्दजस्तै भए । एउटा सीमित ठाउँको त कुरै छोडौँ, देशैभरि खेलजन्य गतिविधिहरु हुन सकेनन् त्यसैले पनि स्थानीय तहबाटै खेल गतिविधि ब्युँताउन आफूले बालबालिकालाई फुटबल तालिम दिन सुरु गरेको सुरेन्द्रले प्रदेश पोर्टललाई बताए । 

स्पोर्टस स्वास्थ्यको लागि पनि महत्वपूर्ण भएको र बालबालिकालाई आधारभूत (ग्रासरुट) तालिम सानो उमेरदेखि नै दिन सके भोलि उसले सहजै फुटबलका विभिन्न टेक्निकहरु सिक्न सक्ने भएकाले आफूले बेसिक तालिममा ध्यान केन्द्रित गरेको सुरेन्द्र बताउँछन् । फुटबल तालिम लिन सुरेन्द्रसँग ठोक्किने खेलाडीहरुलाई सुरेन्द्रले २ भागमा विभाजन गरेका छन् । एउटा अण्डर १५ अर्थात् १५ वर्षभन्दा मुनिको टिम र अर्को १५ वर्षभन्दा माथि २० वर्ष सम्मको टिम । यी दुई टिमलाई सुरेन्द्रसहित ४ जनाको समुहले गोलकिपर, डिफेन्स, किक, पासजस्ता फुटबलसँँग सम्बन्धित तालिमहरु दिइरहेको छ । आफूसँग एन्फाका प्रशिक्षक लाइसेन्सप्राप्त श्याम मानन्धरका साथै गोलकिपरको सीप सिकाउने विष्णु चौधरी र सीपमै सहयोग गर्ने राजकुमार श्रेष्ठ रहेको सुरेन्द्रले सुनाए । 

फुटबल प्रशिक्षकहरुको सँस्था नेपाल कोच एसोसिएसनका केन्द्रीय उपाध्यक्षसमेत रहेका सुरेन्द्र यस्तो खालको तालिम सम्भवतः नेपालमै पहिलो पटक सञ्चालन गर्ने व्यक्ति हुन । खेलले बालबालिकालाई स्वस्थ्य मात्र बनाउँदैन, यसले त अहिलेको जमानामा मोबाइलमा झुम्मिने गरेका बालबालिकालाई त्यसबाट टाढा राख्नसमेत सहयोग गर्ने गरेको अभिभावक तथा सुरेन्द्रलाई नजिकैबाट सहयोग गरिरहेका इटहरीकै मादेन टे«डर्सका सञ्चालक देवराज मादेनले बताए । प्रदेश पोर्टलसँगको कुराकानीमा देवराजले पब्जी, फ्रि फायरजस्ता ग्याजेट्सको खेलमा लागेका बालबालिकालाई स्पोर्टसमा लगाउन पाउँदा र सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको समेत सुनाए । ‘यो प्रकारको तालिम सम्भवतः प्रदेशमै पहिलो पटक हो । यो तालिम समग्र इटहरीकै बालबालिकाहरुको लागि एकदमै महत्वपूर्ण छ  । स्पोर्टसमा लाग्नु भनेको स्वास्थ्यको लागि पनि एकदमै लाभदायी हो । यही तरिकाले सिकाउने हो भने इटहरीमै रोनाल्डो, मेस्सीजस्ता खेलाडीहरु जन्माउन सकिन्छ । ’मादेनले प्रदेश पोर्टलसँगको कुराकानीमा भने । 

ran2

आफ्नो छोरा अजिथहाङ्ग लिम्बूले राम्रो सिकिरहेको र अनुशासनका साथै मोबाइलमा बिताउने समय खेलमा बिताउन पाउँदा बच्चा पनि असल बाटोमा लागेको मादेनले सुनाए । सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्रले हालेको पोस्ट देखेपछि आफ्ना कक्षा ५ मा पढ्ने छोरा रिजनलाई फुटबल तालिममा हालेकी इटहरी ४ की सीता श्रेष्ठ अहिले निकै खुसी छिन् । छोराको तौल स्वभाविकभन्दा बढी भएकाले पनि स्वस्थ्यकर स्पोर्टसमा हाल्दा केही सुधार हुने अपेक्षासहित सीताले रिजनलाई तालिममा हालेकी थिइन् । आज अपेक्षाकृत रुपमा रिजनको स्वास्थ्य र व्यवहारमा सुधारसमेत भएको सीताको ठम्याइ छ । ‘मोबाइलमा ह्याङ्ग भएर बस्थ्यो । अहिले खेलमा जान थालेपछि राम्रो परिवर्तन भएको छ, अनुशासन सिकेको छ । ’सीताले सुनाइन् । 

किशोर अर्थात् टिनएजरहरुलाई खेलमा आबद्ध गर्न सके उनीहरु कुलतमा फस्न सक्ने सम्भावना कम हुने फुटबल ट्रेनिङ्ग सेन्टर इटहरी नाम दिइएको यस अभियानका सुरेन्द्र तामाङ्गले प्रदेश पोर्टललाई बताए । अहिले सुरेन्द्रले आफुसँग सिक्न आउने बच्चाहरुबाट एड्मिसन फि लिने गरेका छन् भने सोही फिबाटै उनले बच्चालाई जर्सी उपलब्ध गराउने गरेका छन् । ठूला खेलाडीहरुलाई भने बेलाबेला प्रतियोगिताहरुमा समेत लैजाने गरेको बताउने सुरेन्द्र खेलको क्रममा घाइते हुनेहरुका लागि इटहरी वडा नम्बर ९ सँग ‘टाइअप’ गरेर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजनासमेत सुनाउँछन् । निकट भविष्यमा यो फुटबल तालिमलाई एकेडेमीको रुपमा विकास गर्नेसमेत आफ्नो योजना रहेको सुरेन्द्रले हाम्रो बसाइमा सुनाए । थ्रिस्टार फुटबल क्लबका पूर्वकप्तान रहेका सुरेन्द्रले नेपाली फुटबलमा १ बर्ष फ्रेण्डस क्लब, १ वर्ष सरस्वती क्लब र ५ वर्ष नेपालको राष्ट्रिय फुटबल टिममा रहेर योगदान गरिसकेका छन् । 

ran1

आफूले समुदायलाई पनि सिकाउनुपर्छ र भोलिको रोनाल्डो तथा मेस्सीहरु यही जन्माउनुपर्छ भन्ने हिसाबले बच्चाहरु भेला गरेर फुटबल तालिम गराइरहेको तामाङ्गको भनाइ थियो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा वडाको पहलमा केही खेल सामग्री सहयोग गरेको र निकट भविष्यमै प्रशिक्षण लिन आउने खेलाडीहरुलाई स्वास्थ्य बीमा गरिदिने योजना रहेको सुनाउँछन् । आफ्नै वडामा फुटबल प्रशिक्षण भइरहेकोमा आफुलाई खुसी लागेको समेत थापाले हामीलाई सुनाए । भोलिका ‘फुटबल आइकन’ निर्माणमा सक्रिय भूमिका खेलिरहेका यी युवालाई इटहरीकै राष्ट्रिय जागृति क्लब, इटहरीकै फुटबलप्रेमी व्यवसायी अनुरोध थापा लगायत थुप्रैले सहयोग गरिरहेका रहेछन् । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ बाट पनि सुरेन्द्रको पहलमा इटा थप्न केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको रहेछ ।