धरानः संविधानसभाका सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ धरान आउने भएका छन् ।
शनिबार नेम्वाङ नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको प्रदेश १ अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्न धारन आउने भएका हुन् । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा सङ्गठनको दोस्रो अधिवेशन हुँदैछ । अधिवेशनमा नेपालको ‘अर्थतन्त्रका पछिल्ला परिदृष्य’ विषयक विचार गोष्टी हुने आयोजक समितिका संयोजक पितकुमार श्रेष्ठले बताए । उनले शैक्षिक सुधारमा सङ्गठनले भूमिका खेल्दै आएको उल्लेख गरे ।
अधिवेशनमा मुद्रास्फिति, आर्थिक वृद्धिदर, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, कुल गार्हस्थ उत्पादन, विपे्रषण, वैदेशिक मुद्रा सञ्चिति लगायतका विषयमा बहस हनेछ । अधिवेशनमा ‘अर्थतन्त्रका पछिल्ला परिदृष्य’ का विषयमा स्नातकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्रका प्रा.डा. अर्जुनप्रसाद दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव प्रा.डा पदमप्रसाद खतिवडाले प्राध्यापक बौद्धिक सङ्गठन भएकाले अधिवेशनमा बौद्धिक बहस राखिएको बताए ।
उनले भने, ‘हाल अर्थतन्त्रका विषय महत्वपूर्ण भएकाले आर्थिक बहस राखियो ।’ उनले आफूहरुले शैक्षिक विकृति विसङ्गतिका विरुद्धमा आवाज उठाउँदै आएको बताए । त्रिभुवन विश्वविद्यालयका नतिजा ढिलो सार्वजनिक गर्ने विषयमा परिक्षा नियन्त्रण कार्यालयलाई ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ थियो ।