इटहरीः प्रदेश १ को संसदमा प्रदेश नामकरणको मुद्दा ब्युँतिएपछि आफ्नो पहिचान गुम्न लागेको बताउँदै लिम्बूवानहरुले प्रदेश १ को नाम ‘लिम्बूवान किराँत प्रदेश’ राख्न माग गरेका छन् ।
दुई दिनअघि मात्र विभिन्न संघ तथा संगठनका ३१ जनाको हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गरेका उनीहरुले सोमबार भने लिम्बूवान किराँत प्रदेशको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् । लिम्बूवान किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश १ सरकारलाई पहिचानको आधारमा प्रदेशको नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरू पहिचान बिनाको नाममा सहमति जुटाउन खाजेको भन्दै समितिले ध्यानाकर्षण भएको समेत संघर्ष समितिले जनाएको छ । ०६२÷०६३ को जनआन्दोलन, लिम्बूवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित, पिछडावर्ग आन्दोलनहरूको जनादेशअनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बूवान किराँत प्रदेश’ नामकरण गर्नुपर्नेमा समितिले जोड दिएको छ ।
समितिले सोमबार मुख्यमन्त्री, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख प्रतिपक्षी एमालेले कोसी र सत्ता साझेदार नेपाली कांग्रेसले प्रदेशको नाम सप्तकोसी प्रस्ताव गरेपछि लिम्बूवानले ज्ञापनपत्र बुझाएको हो । संयुक्त संघर्ष समितिले आज, भोलि र पर्सि जिल्ला जिल्लामा समिति गठन गर्ने र ३२ गते मुख्यमन्त्री कार्यालयअगाडि जनप्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।