इटहरीः मोरङ्गको केराबारीका बिमल मगर रामधुनीको झुम्कामा बस्छन् । सानैदेखि खेल क्षेत्रमा लागेका मगर फुटबलका पारखी मात्र होइनन् । फुटबलको कुनै समयका खेलाडी तथा अहिलेका प्रशिक्षक हुन् । 

इटहरीको पाथीभरा इङ्ग्लिस स्कुलबाट एसएलसी अनि इटहरीकै विश्व आदर्श कलेजबाट प्लस टु अनि स्नातक तहको अध्ययन पूरा गरेका मगरले लामो समय इटहरीको राष्ट्रिय जागृति क्लबबाट फुटबल खेलेका थिए । ४ वर्ष विश्व आदर्श कलेजको स्पोर्टस कोअर्डिनेटरको रुपमा काम गरेका मगर अहिले भने रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको लर्डबुद्र्ध इन्टरनेसनल स्कुलमा फुटबल प्रशिक्षकको रुपमा कार्यरत छन् । लर्डबुद्धबाहेक उनी इटहरीकै इटहरी नमुना कलेज र इटहरी फुटबल क्लबमा समेत प्रशिक्षकको भुमिकामा छन् । 

झापाको दमकमा रहेको ध्रुवतारा स्पोर्टिङ्ग क्लबले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा रामधुनी ५, झुम्काको लर्डबुद्ध इन्टरनेसनल स्कुलको फुटबल टिम च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनल खेलमा झापाको जलथल फुटबल क्लबलाई ट्राइबेकरमा जित्दै झुम्काको लर्डबुद्ध एकेडेमीले प्रथम पुरस्कार हात पार्न सफल भएको हो । सुनसरी, मोरङ्ग र झापाका ७ वटा टिमबीच भएको प्रतियोगिता झापाको दमकस्थित उराउ टोल खेल मैदानमा सम्पन्न भएको थियो । च्याम्पियनको उपाधिसँगै लर्डबुद्धले ट्रफी, मेडल प्रमाणपत्रका साथमा ५० हजार नगद पुरस्कार प्राप्त गरेको प्रशिक्षक मगरले प्रदेश पोर्टललाई बताए । 

हरेक बच्चाले ८ वर्षको उमेरदेखि ग्रासरुट तालिम लिनुपर्ने र त्यसो भए मात्र बच्चाले हरेक टेक्निकहरु जान्ने बिमलको भनाइ थियो । इटहरीमा बच्चाहरुलाई भेला गरेर प्रशिक्षक सुरेन्द्र तामाङ्गले गराएजस्तै क्लोज क्याम्प आयोजना गर्न सके फुटबलमा लगाव भएको खेलाडी जन्माउन सकिने बिमलले हामीलाई बताए । लर्डबुद्धले खेलका हरेक शीर्षकमा राम्रो लगानी गरेको र सोहीअनुरुप रिजल्ट पनि पाइरहेको प्रशिक्षक मगरको भनाइ थियो । झुम्का बजारमा खेलसम्बन्धी सम्पूर्ण सामग्री पाउनेगरी अल स्पोर्टस नामक पसलसमेत सञ्चालन गरीरहेका  बिमल एएफसीबाट सी लेभलको लाइसेन्सप्राप्त प्रशिक्षक हुन् । बिमलले बी लेभलको कोच बन्नका लागि सन् २०२१ मै परक्षिासमेत दिइसकेका छन् । 

कोरोनाका कारण भएको लकडाउनको समयमा आफ्नै गाउँ केराबारीमा गएर डेढ बर्ष फुटबल प्रशिक्षण गरेका बिमलले त्यहाँको केराबारी स्पोर्टस क्लबलाई राम्रो अवस्थामा पुयाएको बताउँछन् । त्यही भएर पनि आफ्नै गाउँले बिमललाई सम्मान गरेको थियो । खेलाडी उत्पादन गर्ने भनेको विद्यालय तहबाटै भएकाले हरेक विद्यालयले स्पोर्टस टिचर राख्नुपर्ने र त्यसमा पनि लाइसेन्स अनिवार्य भएको प्रशिक्षक राखे मात्र राम्रो रिजल्ट आउने बिमलको भनाइ थियो ।