बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की वर्षाबाट प्रभावित बनेका नगरवासीहरूको गुनासो सुन्न टोलटोलमा पुग्न थालेका छन् ।

साना– साना खहरे तथा खोलाबाट प्रभावित बनेका टोलहरुमा पुगेर समस्यालाई समाधान गर्ने उद्देश्यले स्थानीयहरुको गुनासोलाई सम्बोधन गर्न स्थलगत निरीक्षण गरिएको नगरप्रमुख कार्कीले बताए । सोमबार बराहक्षेत्र ४ नम्बर वडाको पुलाहा टोल क्षेत्रमा पुगेर खोला नियन्त्रणबारे नगरप्रमुख कार्कीले स्थानीयहरुका धारणा सुनेका थिए ।

पुलाहा टोलदेखि कालाबञ्जर जाने बाटोको स्तरोन्नति र खोला नियन्त्रण गर्न स्थानीयले नगरप्रमुखसँग आग्रह गरेका थिए । वर्षाका कारण खोलाको कटानले गर्दा जोखिममा रहेका बाटोलाई मर्मत गर्न नगरको जेसीबी उपलब्ध गराएर काम गर्ने नगरप्रमुख कार्कीले बताए । सडकको स्तरोन्नतिका लागि क्रमशः नगरले योजना बनाएर काम गर्ने नगरप्रमुख कार्कीले स्थानीयहरुसँग प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।