तेह्रथुमः तेह्रथुम पावर कम्पनीले जिल्लाको खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति पाएको छ । विद्युत विकास विभागले सो कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको हो ।

कम्पनीले सो आयोजना २ हजार किलोवाटको हुने प्रस्ताव गरिएको जनाएको छ । कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठलका अनुसार हाल कम्पनीले साढे ७ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

उनका अनुसार सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको हो । कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीका अनुसार जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना मानिएको खोरुङ्गा खोला जलविद्युत् आयोजनाको निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ ।