तेह्रथुमः कोशी अञ्चलको पहाडी जिल्ला तेह्रथुममा सिँचाइ अभावमा ठूलो क्षेत्रफलमा रहेको खेतीयोग्य जमीन बाँझै रहने गरेको छ । सिँचाइ अभावका कारण किसानले वर्षा याममा समेत राम्ररी खेती लगाउन पाउँदैनन् । सर्वेक्षणअनुसार जिल्लाको ३० हजार ६ सय ८१ हेक्टर खेतीयोग्य जमिन बाँझै रहने गरेको छ ।
लामो समयको खडेरीका कारण किसानले हिउँदे बाली पनि लगाउन पाएका छ्रैनन् । लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली प्रभावित भएको किसान बताउँछन् । जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आउने गरेको छ ।
तेह्रथुममा आकाशे पानीको भरमा ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चामारा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायतका क्षेत्रमा खेती हुने गरेको छ । लामो समयको खडेरीका कारण ती क्षेत्रका अधिकांश जमिन बाँझै रहने गरेका छन् ।
कतिपय ठाउँमा लगाइएको बाली पनि खडेरीका कारण मर्न थालेको किसान बताउँछन् । चुहानडाँडाका किसान कृष्ण बास्कोटाका अनुसार लामो खडेरीका कारण खेतबारी र जङ्गलमा घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान बताउँछन् ।
जिल्लाको ३७ हजार २ सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेकोमध्ये ६ हजार ४ सय ६० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा रहेको जिल्ला कृषि कार्यालयले जनाएको छ ।