इलामः अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाका दुई वडामा १–१ लाख रुपैयाँ बीउ पूँजी अनुदान दिइएको छ ।

सो गाउँपालिका र करूणा फाउण्डेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत फाकफोकथुम वडा नं १ र २ का अपाङ्गता भएका व्यक्तिलाई उक्त बीउ पूँजी प्रदान गरिएको हो ।

अपाङ्गता भएका व्यक्ति आबद्ध रहेको संस्था स्वावलम्बन समूहलाई उक्त बीउ पूँजी प्रदान गरिएको करूणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए । सो बीउ पूँजीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउने उनले जनाए ।

ती २ वडामा करिब १ सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । सो बीउ पूँजी परिचालन गरी उनीहरूको आयस्तरमा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको अधिकारीले बताए ।

बीउ पूँजीबाट ऋण लिएर अपाङ्गता भएका व्यक्तिले बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, गाईपालन तथा किराना पसल सञ्चालन गर्दै आएका छन् ।