भोजपुरः गाउँवासीलाई घरआँगनमै स्वास्थ्य सेवा दिने उद्देश्यअनुरुप नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ–७ को कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
रणबम गणका गणपति प्रमुख सेनानी प्रविनराज घिमिरेका अनुसार पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको सो शिविरमा ३ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायतका रोगको उपचार गरिएको थियो । शिविरमार्फत् टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का स्थानीयले सेवा लिएको आयोजकले जनाएको छ । डा पवित्रा श्रेष्ठ, डा राम श्रेष्ठलगायतका चिकित्सकले बिरामीको उपचार गरेका थिए । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको रणबम गणले जनाएको छ ।