बिर्तामोडः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा सङ्कलित पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ ।
नास्टले जनाएअनुसार ३ वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नमूनाका रूपमा पहिलो पटक कन्काई नगरपालिकामा देशमै पहिलो पटक यो प्रविधि शुरु हुन लागेको हो । नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले बताएका छन् । यो प्रविधि सफल भएमा देशका अन्य स्थानीय तह पनि यो प्रविधिप्रति आकर्षित हुने उनले बताए ।
नास्टका अनुसार नगरले आफैं त्यो काम गर्नुभन्दा पनि अन्य संस्थालाई ठेक्का दिनु उचित हुने भनी सल्लाह दिइएको छ । आफैंले व्यवसाय गर्दा असफल हुने सम्भावना रहेको उनले बताए । उनका अनुसार स्थानीय तहले फोहोर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम खर्चमै फोहोर प्रशोधन मेसिन खरिद गर्न सकिनेछ ।