विराटनगरः विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई पाँच थान एसी प्रदान गरेको छ ।
अस्पताललाई सुधार गर्ने अभियानमा सरिक रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केही समय पहिले बच्चा वार्ड र प्रसुति गृहमा एसी दिने घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयन गर्ने क्रममा मेयर पराजुलीले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पराजुलीले सबैको सहयोग रहे कोशी अञ्चल अस्पतालले सबै सेवा प्रवाह गर्न सक्ने बताए । अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास गर्न र उपलब्ध साधन भित्र्याउन स्थानीय, प्रदेश र सङ्घीय सरकार सकारात्मक हुन आवश्यक रहेको उनले बताए ।
महानगरले उपलब्ध गराएको एसी लिँदै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गरे । सबैले मेरै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवा प्रवाह सहज रूपमा गर्न सक्ने उनले बताए ।
अस्पताल परिसरको सडक व्यवस्थापनमा समेत मेयर पराजुलीले अग्रसरता लिएर पिच गर्ने काम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, अञ्चल अस्पतालको प्रसूति विभाग प्रमुख डा. सङ्गीता मिश्र, प्रशासन प्रमुख नवराज लुइँटेल लगायतको सहभागिता रहेको थियो ।