बिर्तामोडः झापाको मेचीनगर–१० मा सोमबार हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको सप्तरीको कञ्चनरुप निवासी २४ वर्षीय इराद अलीसँग विवाह हुन लागेको थियो ।

धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको बताइएको छ ।

प्रहरीले अभिभावकलाई विवाह रोक्न दबाब दिएपछि जन्ती नै नआएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्सेनी १३ हजार जनाको बालविवाह हुने गरेको बताएको छ ।