विराटनगरः तेस्रो मुलुकबाट नेपाल भित्रिएको सामानको भन्सार जाँचपासमा त्रुटि देखिएपछि सो सामान राजस्व अनुसन्धानको नियन्त्रणमा परेको छ ।

काठमाडौंका व्यवसायीले कार्गोमार्फत् मगाएको तयारी कपडा तथा अन्य खुद्रा सामान एक सातायता अगावै विराटनगर भन्सारबाट जाँचपास भएको थियो । भन्सारबाट जाँचपास गरिसकिएका तीन वटा ट्रकमा भएको सामान पथलैयामा पुगेपछि राजस्व अनुसन्धान इकाईको नियन्त्रणमा परेको हो ।

तेस्रो मुलुकबाट मगाइएको तयारी पोशाक तथा अन्य खुद्रा सामान दाबी गरिएको ट्रकमा अन्य वस्तु समेत रहेको आशङ्का गरेर राजस्व अनुसन्धानले छानबिन शुरु गरेको बताइएको छ । राजस्व इकाई पथलैया प्रमुख राजन बिसीका अनुसार तयारी पोशाक तथा अन्य खुद्रा सामग्री भनिएको ट्रकमा उल्लेख भएभन्दा अरु वस्तु समेत रहेको सूचना पाएपछि अनुसन्धान बढाउनुपर्ने देखिएको हो ।

विराटनगर भन्सारबाट जाँचपास हुँदा वीरगञ्जका भन्सार एजेन्ट ईश्वर कार्कीको नाममा रहेको भन्सार ४२३ नम्बरको एक्जिम कोर्डको प्रयोग भएको छ ।

कार्कीका प्रतिनिधि सन्तोष खरेलले विराटनगर भन्सारबाट समान जाँचपास गराएका थिए । प्रतिनिधि खरेलले एकसाता अगाडि नै भन्सारबाट जाँचपास गरिएको सामानमा भनिएको बाहेकको कैफियत नभएको दावी गरे । तेस्रो मुलुकबाट कार्गोमार्फत् मगाइएको सामान जाँचपासमा उल्लेखित कागजात पेश गरेर क्लियरिङ गरिएको प्रतिनिधि खरेलको दाबी छ ।

मिलेमतोमा राजस्व छलेर भित्र्याइएको आशङ्कामा नियन्त्रणमा परेका ३ वटा ट्रकमा अन्य केही बहुमूल्य सामान समेत रहेको आशङ्का गरिएको छ । ‘भन्सार जाँचपासमा आशङ्का गरेर नियन्त्रणमा लिनुपर्ने जरुरी ठान्या छैन’, विराटनगर भन्सार कार्यालयका निमित्त प्रमुख मनिराम पौड्यालले भने, ‘अनुसन्धान गर्ने क्षेत्राधिकार प्रयोग भएको हो ।’

नियन्त्रणमा रहेका तीन वटै ट्रकको सामानको पुनर्मूल्याङ्कन गर्ने काम भइरहेको बताइएको छ । राजस्व अनुसन्धान इकाई पथलैयाले नियन्त्रणमा लिएका ती ट्रकमा भएको सामानको अनुसन्धानमा विभागले चासो राखेको छ । विराटनगर र काकडभिट्टा भन्सारबाट जाँचपास गराएका मालवस्तु सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान इकाईले हेर्नुपर्ने हुन्छ । तर, भन्सार जाँचपास गराएर इटहरी हुँदै पश्चिमतर्फ लागेका तीन वटा ट्रकको विषयमा कुनै सूचना नराखिएकाले आशङ्कालाई थप बढाएको बताइएको छ ।