बिर्तामोडः आफ्नो नगरलाई रासायनिक विषादीबाट मुक्त गराउने अभियानमा सहयोग होस् भनेर अर्जुनधारा नगरपालिकाले जैविक विषादी बनाउने ड्रम किसानलाई बाँड्न थालेको छ ।

कृषि विकास शाखाको अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वल अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाले कृषिका लागि छुटयाएको चालु बजेटबाट किसानलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २ सय र ३ सय लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको बताइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलका अनुसार रासायनिक मल र विषादीको विकल्पस्वरूप किसानलाई प्राङ्गारिक मल र जैविक विषादी बनाउन तालीम पनि दिइएको छ ।

कृषि शाखाका प्रमुख शालिकराम भट्टराईका अनुसार चालु आर्थिक वर्षमा उक्त शाखाले अर्गानिक कृषि उत्पादनको प्रचार गर्न गाउँ÷गाउँमा सडक नाटक प्रदर्शन गर्नुका साथै दुई स्थानमा आइपिएम पाठशाला सञ्चालन गरेको छ । अर्जुनधारा–६ को सरस्वती महिला कृषक समूह र अर्जुनधारा–८ को मामाभाञ्जा कृषि फार्ममा नगरपालिकाको सहयोगमा प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गरिएको भट्टराईले बताए । नगर प्रमुख हरि रानाका अनुसार सो केन्द्रबाट उत्पादित गँडयौले तथा अन्य मल किसानले किनेर लैजाने गरेका छन् ।