दुहबीः सुनसरीको दुहबीमा १० वर्षे महत्वकाङ्क्षी योजना अन्तर्गतको प्रस्तावित दुहबी एकीकृत नगर विकास योजना तथा परिकल्पनाका लागि अनुमानित ५१ अबर रुपैयाँको लागत सार्वजनिक गरिएको छ ।

दातृ संस्था जिआइजेड र नियर्सको सहकार्यमा दुहबी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थितिमा भएको कार्यक्रममा अनुमानित लागत सार्वजनिक गरिएको हो ।

नियर्सका टिम लिडर अजय चन्द्रलालले प्रस्तावित दुहबी नगर विकास योजनामा शहरी विकास योजनाको अवधारणा, योजनाको निर्देशक सिद्धान्त, योजना कार्यान्वयनको रणनीति, योजना कार्यान्वयनको संयन्त्र, भू–उपयोग र तुलनात्मक÷प्रतिस्पर्धात्मक सम्भावनाको बारेमा प्रकाश पारेका थिए । यसैगरी, शहरीकरण तथा बस्ती विकासका लागि एकीकृत शहरी विकास योजना तर्जुमाका सैद्धान्तिक आधारहरूको बारेमा नियर्सका अध्यक्ष जगदीश पोखरेलले प्रष्ट पारेका थिए ।

१० बर्से शहरी विकास योजनाका लागि दुहबी नगरपालिका, जिआइजेड र नियर्सको सहकार्यमा ७ महिना लगाएर नगरको रुपरेखा (टाउन प्लानिङ) तयार पारिएको बताइएको छ । स्रोत र सम्भावनाको पहिचान गरेर १२ वटै वडामा गई अवलोकनका साथै परिचयात्मक गोष्ठी गरेर स्वच्छ आवास क्षेत्र, उद्योग र कृषिको अवधारणा बनाइएको बताइएको छ । दुहबीलाइ स्मार्ट सिटी बनाउनका लागि रिङ रोड, लिङ्क रोड, स्मार्ट कोल्ड स्टोर, स्टेडियम, हरेक वडामा बाल उद्यान, बस स्टेण्ड, वडा केन्द्र लगायतको दीर्घकालीन परियोजनाको बारेमा जानकारी गराइएको जनाइएको छ ।

कार्यक्रमका सहभागीहरूले दुहबीमा रहेको अव्यवस्थित उद्योग मुख्य चुनौतीको रूपमा रहने बताएका छन् । कार्यक्रमलाई शहरी विकास मन्त्रालयका पूर्व सचिव सुरेशप्रकाश आचार्यले सहजीकरण गरेका थिए ।