दुहबीः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर महिला हिंसाविरुद्ध जनचेतना कार्यक्रमअन्तर्गत दुहबीमा विभिन्न कार्यक्रम भइरहेका छन् ।
जसअन्तर्गत दुहबी जेसीजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा घरेलु सेनेटरी प्याड बनाउने तालिम शुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले गरेका थिए । विशिष्ट अतिथि उपमेयर सुनिता दाहाल (साह) ले तालिमको सफलताको शुभकामना दिइन् । आइतबारदेखि शुरु भएको तालिम दुहबीका १२ वटै वडाका १२ वटा विद्यालयमा १२ दिन अभियानको रूपमा सञ्चालन हुने भएको हो ।
तालिममा सामुदायिक विद्यालयका ८ कक्षादेखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई प्रशिक्षण दिइने दुहबी जेसिजकी अध्यक्ष कञ्चन झाले बताइन् । प्रशिक्षक दिपिका भगतले कार्यक्रमको सहजीकरण गर्ने बताइएको छ ।