सङ्खुवासभाः सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकामा सञ्चालित आँखा र कानको उपचार शिविरबाट १ हजार ३ सय ९३ जना लाभान्वित भएका छन् ।

चिचिला गाउँपालिका र तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त आयोजनामा सो शिविर सञ्चालन भएको हो । चिचिला गाउँपालिकाका ५ वटै वडामा सञ्चालित शिविरमा ८ वटा विद्यालयका ९ सय जना विद्यार्थी तथा स्थानीय ४ सय ९३ जनाको आँखाको जाँच गरिएको थियो ।

आँखा जाँचको क्रममा ३० जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएको छ । १२ जनाको कानको जालीमा प्वाल परेको पाइएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए । शिविरमा ३ सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । ३५ जना विद्यार्थीलाई पनि निःशुल्क चस्मा प्रदान गरिएको इन्चार्ज बरालले बताए ।

गाउँगाउँमा आँखाका बिरामी बढिरहेको पाइएको बरालले बताए । चिचिला गाउँपालिका सदमुकाम खाँदबारीसँग जोडिएको गाउँपालिका हो । सदरमुकाम नजिककै ठाउँमा आँखाका रोगी बढ्नु दुखद भएको भन्दै बरालले चिन्ता व्यक्त गरे ।

आँखामा समस्या हुँदाहुँदै पनि स्थानीयवासी अस्पताल नजाने गरेको पाइएको पनि उनले बताए । अस्पताल पुगेको समयमा १ पटक आँखाको जाँच गर्न समेत बरालले आग्रह गरे ।

चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले यसरी गाउँगाउँमा नै सेवा दिँदा आफूलाई पनि खुशी लागेको बताए । गाउँगाउँबाटै सेवा दिँदा नागरिकहरूले गाउँमै सरकार आएको अनुभूति गर्ने भएकाले शिविर सञ्चालन गरिएको शेर्पाले बताए ।