दुहबीः मोरङको बुढीगंगा गाउँपालिकाले कर आतङ्क मच्चाएको भन्दै व्यवसायीहरू आक्रोशित भएका छन् ।
गाउँपालिकाले टेण्डर प्रक्रिया बिनै कवाडी कर भन्दै एक किलो फलामको २ रुपैयाँ र अन्य कवाडी समानमा समेत कर लिई दोहोरो कर लिएको भन्दै व्यवसायीहरू आक्रोशित भएका हुन् । बुढीगंगास्थित नेमुवा प्रहरी चौकी नजिकै रहेको जिल्ला समन्वय समिति मोरङको कर उठाउने ढाटबाट जथाभावी कर लिइएको व्यवसायी बताउँछन् ।
गाउँपालिकाको आदेशले कवाडी कर उठाएको भन्दै मालवाहक सवारी साधन रोकेर कर उठाउने गरेको पाइएको छ । कर आतङ्क बढेपछि व्यवसायीहरू भानुभक्त पौडेल, कर्ण केशरी, अशोक पोद्दार, मोती राय, जयदेव न्यौपाने लगायत ३३ जनाको एक समूहले दोहोरो कर असुलीविरुद्ध शुक्रबार गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छन् ।
निवेदनमा आफूहरूले १३ प्रतिशत आयकर नेपाल सरकारलाई तिरेको भए पनि कवाडी सामानमा जबर्जस्ती कवाडी कर असुल्ने काम भइरहेको भन्दै दोहोरो कर असुल्ने प्रक्रिया तत्काल बन्द गराउन माग गरेका छन् ।
कर नतिर्ने सवारी ४ दिनसम्म रोकिए
व्यवसायी मोती रायले नेपाल जुटबाट २५ टन कबाडी फलाम जगदम्बा स्टिल सिमरा पठाउँदा करबापत प्रतिकेजी २ रुपैयाँ लाग्ने भन्दै ४ दिनसम्म ट्रक रोकिएको बताए ।
ओम साइ स्क्राफ स्टोर इटहरीका प्रोपाइटर श्रवण चौधरीले १ हप्ता अघि प्रिमियर वायर बुढीगंगाबाट जगदम्बा स्टिल सिमरा बारामा लाँदै गरेको १४ टन कवाडी फलाममा २ रुपैयाँ प्रतिकिलोले कवाडी कर लिन खोजेको उनले बताए । आफ्नो ट्रक रोकेपछि आफूले भ्याट बिल देखाउँदै दोहोरो कर असुल्न पाइँदैन भनेर प्रतिकार गरेपछि भ्याट बिल खोसेर राखेको उनले बताए ।
यस्तो काम रोकिन्छः गाउँपालिका अध्यक्ष
यस विषयमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बुझ्दा आफूले निर्देशन नदिएको तर गाउँपालिकाका कर्मचारीहरूले यस्तो गरेको भए तुरुन्तै यस्तो काम रोकिने बताए ।