धरानः धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं साधारणसभा सोमबार सम्पन्न गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ५ करोड २ लाख ७७ हजार ४ सय ९१ रुपैयाँ निक्षेप सङ्कलन गर्न सफल भएको संस्थाका प्रबन्धक जीतबहादुर राउतले बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा १ करोड ४७ लाख ८६ हजार ६ सय ३२ रुपैयाँले बढी निक्षेप सङ्कलन भएको बताए । सहकारीले ७० करोड ९४ लाख १७ हजार ४ सय ५५ रुपैयाँको कारोबार गरेको उनको भनाइ थियो ।

संस्थाको कुल आम्दानी १ करोड ९ लाख २० हजार ४ सय ४७ रुपैयाँ रहेको जनाइएको छ । बम्पर उपहार योजना अन्तर्गत संस्थाले आफ्ना सेयर सदस्यहरु मध्येबाट ३ जनालाई बम्पर उपहार प्रदान गरेको छ । सो उपहारअन्तर्गत ज्योति लिम्बूले २५ हजार रुपैयाको चेक हात पारिन् । यसैगरी, शान्ता शर्मा र सुनिता शर्माले ५÷५ हजारको चेक हात पारे ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य, असल बचत कर्ता, उच्च बचत कर्ता, असल ऋणीलगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी, धरान–१७ का अपाङ्गता भएका सुरज लिम्बूलाई ४० कित्ता सेयर पुरस्कार स्वरूप प्रदान गरिएको थियो । संस्थाले भावी योजनाको रूपमा संस्थाका काम कारबाही चुस्त राख्नको लागि सफ्टवेयर जडान गर्ने संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले बताए । उनका अनुसार ई सेवा सञ्चालन गर्ने, मोवाइल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, मोवाइल एसएमएस बैकिङ सेवा सञ्चालन पनि संस्थाले गर्नेछ ।

विभिन्न दाताबाट जग्गा खरिदका लागि २ लाख ३ सय ५२ रुपैयाँ सङ्कलन भएको संस्थाका सञ्चालक सदस्य शिशिर राईले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी रहेका थिए । कार्यक्रममा जिल्ला बचत सङ्घ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, धरान नगर सहकारी बोर्डका सदस्य दिनेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।