झापाः मेचीनगरका २ वटा वडालाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ । नगर प्रमुख विमल आचार्यले नगरको ९ र १० नम्बर वडालाई खुला दिसामुक्त वडा घोषणा गरेका हुन् ।

दुवै वडाले संयुक्त रुपमा आयोजना गरेको घोषणासभामा बोल्दै नगरप्रमुख आचार्यले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट वञ्चित गर्ने बताए । केही दिनमा नगरलाई खुला दिसामुक्त घोषणा गरिने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले शौचालय बनाए पनि अधिकांशले त्यसको प्रयोग नगरेको तथा घाँस पराल राख्ने ठाउँ बनाएको बताइन् ।

वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्काको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्र न्यौपाने, धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, धुलाबारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाई नेकपाका नेता दलबहादुर कटटेललगायतले बोलेका थिए ।

कार्यक्रममा ९ र १० वडाका अध्यक्ष क्रमश गोपाल खड्का र सुदय पनेरुले आ आफ्नो वडाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार वडा नम्बर ९ मा करिब १ हजार ६ सय तथा १० मा करिब ३ हजार ४ सय १५ घरधुरी रहेको जनाइएको छ ।

कार्यक्रममा वडालाई खुला दिसामुक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।