भोजपुरः कलेजो लगायतका रोगको समस्याबाट पीडित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेताको उपचार खर्च जुट्न थालेको छ । तत्कालीन नेकपा एमालेका भोजपुर जिल्ला कमिटी उपाध्यक्ष देवीराम चौलागाईंको उपचारका लागि नेता, कार्यकर्ता तथा स्थानीय जुटेका छन् । नेता चौलागाईको उपचारको लागि भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको संयोजकत्वमा उपचार सहयोग समिति बनाइएको छ ।

नेता चौलागार्इं कलेजो तथा छातीमा सङ्क्रमण लगायतका रोगको समस्याबाट ग्रसित भएर काठमाडौं चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पतालमा उपचाररत छन् । चौलागाईंले डाक्टरले कलेजो प्रत्यारोपणका लागि सल्लाह दिएको बताएका छन् ।

प्रत्यारोपणका लागि भारत जानुपर्ने तथा उपचार खर्चिलो हुने भएकाले ६०÷७० लाख बढी खर्च हुने बताइएको छ । समाजका अध्यक्ष शेर्पाको संयोजकत्वमा बनेको समितिमा दिलीप राई, चन्द्र खत्री, राम खत्री, योगेन्द्र राई, रेजिन श्रेष्ठ, पारुहाङ राई, शारदा घले र भद्र पराजुली छन् ।

त्यस्तै, उपचार सहयोग समितिको सल्लाहकारमा नेकपाका नेता घनेन्द्र बस्नेत, पूर्व सांसद जयन्ती राई, सङ्घीय सांसद सुदन किराती, प्रदेश सांसद राजेन्द्र राई, केन्द्रीय सदस्य अजम्बर राई काङमाङ, पूर्वमन्त्री कृपासुर शेर्पा र नेकपा केन्द्रीय सदस्य हरि राई छन् । भोजपुरको कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय अगुवा नेता चौलागाईंको उपचारको सहयोगको लागि यो समितिले केन्द्र सरकार लगायत सबै ठाउँमा अभियान चलाउने बताइएको छ ।

-----------------------------------------------------------------------------------------------------------------------------------

1180x715